काठमाडौँ ।

हाल देशभर मन्सुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावस्वरूप कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ । कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै, मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भाग र बाँकी तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ । त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज राति देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै अन्य पहाडी क्षेत्रमा केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले पुनः आग्रह गरेको छ ।