काठमाडौं, ३ असोज
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली जनताको लामो संघर्ष, बलिदान र लोकतान्त्रिक अभियानको उपलब्धिको प्रतीकस्वरूप संविधान जारी भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ भने प्रधानमन्त्री सुशीला कार्कीले समारोहमार्फत राष्ट्रलाई सम्बोधन गर्नेछिन् ।

यद्यपि, हालको विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकी लगायतका अन्य सांस्कृतिक कार्यक्रमहरू स्थगन गरिएको छ ।

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट औपचारिक रूपमा जारी गरिएको थियो। दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले लामो छलफल, मिहिनेत र समझदारीको आधारमा ‘नेपालको संविधान, २०७२’ जारी गरेको हो ।

सोही दिन राति नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित विशेष बैठकमार्फत तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको औपचारिक घोषणा गरेका थिए ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले देशवासीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनीहरूले संविधानको मर्मअनुसार लोकतन्त्र, समावेशिता र स्थायित्वको आधारमा देशलाई अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।