काठमाडौँ

हाल देशमा मनसुनी न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । साथै अरब सागर र बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसममा व्यापक परिवर्तन देखिएको छ ।

महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, लुम्बिनी लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरू तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको सम्भावना छ । मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।