काठमाडौँ ।

चाडपर्व नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । विगत वर्षहरूमा मुख्यत: घटस्थापनादेखि मात्रै यात्रुको भीड देखिन्थ्यो भने यस वर्ष भने घटस्थापनाअघि नै नागरिकहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पछिल्ला तीन दिनमा मात्रै करिब चार लाख यात्रु उपत्यका बाहिरिएको अनुमान गरिएको छ ।
उनले यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै यातायात सेवा प्रदायक व्यवसायीहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिए ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले हालको अर्थिक र सामाजिक परिस्थितिलाई विचार गरी भाडा नबढाउने स्पष्ट पारे । उनले भने, “हामीले अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताको आधारमा टिकट काट्ने व्यवस्था मिलाएका छौँ, ताकि यात्रुहरूलाई सहजता होस् ।”

यसैबीच, यातायात व्यवस्था विभागले चाडपर्व लक्षित गर्दै यात्रुको सुरक्षित र व्यवस्थित आवागमनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।

मंगलबार विभागमा भएको सरोकारवालासँगको छलफलमा महानिर्देशक राजीव पोखरेलले सडकमा सुशासन कायम गर्न सडक विभागसँगको सहकार्यमा विभिन्न स्थानमा डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिने जानकारी दिए ।

उनका अनुसार यात्रु सहायता कक्ष स्थापना गरिनेछ भने भाडादर पारदर्शी बनाउन विभिन्न स्थानमा सूचना बोर्डहरू राखिनेछन् ।