बाणगंगा । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाहरूको गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ।

एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष घिमिरेले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिक तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो। साथै आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो।

उहाँले देश संकटपूर्ण अवस्थामा रहेको बेलामा उत्तेजनामा आएर गरिने निर्णयले दीर्घकालीन समाधान नदिने भन्दै शान्तिपूर्ण संवाद र सहकार्यकै बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। “आन्दोलनमार्फत उठाइएका माग, आवाज र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाभित्र समेट्दै दीगो समाधान खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो,” विज्ञप्तिमा भनिएको छ।

उपाध्यक्ष घिमिरेले जेनजी आन्दोलनले समाजका गहिरा असन्तुलन र दीर्घकालीन समस्या उजागर गरेको भन्दै संवाद र आपसी विश्वासमार्फत मात्र त्यसलाई सम्बोधन गर्न सकिने धारणा राख्नुभयो। उहाँले हिंसात्मक आन्दोलनले समाजमा विभाजन, असुरक्षा र अविश्वास मात्रै बढाउने चेतावनी दिनुभयो ।

आन्दोलनका क्रममा जनधनको क्षति र सार्वजनिक सम्पत्तिमाथि भएको आगजनीबाट आफ्नो परिवार पनि प्रभावित भएको उल्लेख गर्दै उहाँले जिम्मेवार निकायलाई दोषी पहिचान गरी कारबाही गर्न आग्रह गर्नुभयो। तर कारबाहीको क्रममा थप अराजकता बढ्न नदिनु सबै पक्षको दायित्व रहेको पनि उहाँको भनाइ छ।