काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङको नेतृत्वमा रहेको समूहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन र नाराबाजी गरेको छ ।

मन्त्री छनोटप्रति असन्तुष्टि व्यक्त गर्दै युवाहरुले मध्यराति बालुवाटार पुगेर “प्रधानमन्त्री राजीनामा दे” र “मुर्दामाथि राजनीति नगर” जस्ता नारा लगाउँदै प्रदर्शन गरे ।

जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारका सदस्यहरूले पनि सुदन गुरुङको नेतृत्वमा नारा लगाएका थिए ।

प्रदर्शनको क्रममा सुदन गुरुङले भने, “सबैभन्दा पावरफुल नेपाली जनता हुन् । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा हामीले राखेका छौं, त्यो ठाउँबाट हामी थुतेर निकालिदिन्छौं ।”

सुदन गुरुङको नेतृत्वमा रहेको ‘हामी नेपाल’ समूहका युवाहरुको प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री कार्कीले सपथ ग्रहण गरेपछि सुदन गुरुङले कार्कीलाई सम्मान जनाउँदै खुट्टा ढोगेका थिए ।

प्रधानमन्त्री कार्कीले आइतबार तीन नयाँ मन्त्री नियुक्त गरेका समाचार सार्वजनिक भए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानूनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्री नियुक्त गरिएको महाशाखाले जनाएको छ ।

तर, सुदन गुरुङको समूहले आफूहरूसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्टि जनाएको छ । सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिई आक्रोश प्रकट गर्दै भने, “यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ, त्यहाँ भित्र बसेर ।”

सुदनका समर्थकहरूले आन्दोलनको हाइज्याक भएको भन्दै आक्रोश प्रकट गरे । प्रदर्शनपछि प्रधानमन्त्री निवास अगाडि सुरक्षाकर्मीको तैनाती थप कडा गरिएको थियो ।