काठमाडौं

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै, अर्को सूचना जारी नभएसम्म सवारी चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द रहने जानकारी दिएको छ ।

विभागका अनुसार, विभागको संरचनामा तोडफोड, आगजनी, र चोरी/लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको छ, जसका कारण उक्त सेवा अवरुद्ध भएको हो ।

‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवाहरू अवरुद्ध भएका छन् । विषम परिस्थितिमा, अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सम्पूर्ण सूचना प्रविधिसम्बन्धी सेवाहरू बन्द रहने कुरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।