काठमाडौं, २८ भदौ ।
काठमाडौंमा नयाँ सरकार गठनको चहलपहल चलिरहँदा, शुक्रबार साँझ नेपालगञ्जमा भने गहिरो शोक र आक्रोशको वातावरण थियो। राजधानीमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट घाइते भई निधन भएका शुलभ श्रेष्ठ र आयुष थापा मगरको पार्थिव शरीर विमानमार्फत नेपालगञ्ज ल्याइएको हो ।

बुद्ध एयरको विमान नेपालगञ्ज अवतरणसँगै, धम्बोझीका श्रेष्ठ परिवारका सदस्य, स्थानीय अगुवा र सर्वसाधारण विमानस्थल परिसरमा भेला भएका थिए । राष्ट्रिय झन्डा झुन्ड्याइएका दुई मिनी ट्रक विमानस्थल बाहिर तयारी अवस्थामा थिए । विमानबाट निकालिएका दुई रातो बन्द बाकसहरू एम्बुलेन्समार्फत धावनमार्ग हुँदै निकालिए, र पछि तिनलाई झन्डा बाँधिएका ट्रकहरूमा राखेर परिवारलाई हस्तान्तरण गरियो ।

शुलभको शव केहीबेर शवगृहमा राखियो भने आयुषको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भेरी स्कुलको परिसरमा राखिएको थियो । शुक्रवार राति सयौंको उपस्थितिमा सिधनिया घाटमा दुवैको अन्तिम संस्कार गरियो । मलामीहरू आँखा रसाइरसाइ शुलभ र आयुषको बलिदानीलाई सम्झँदै घाटसम्म पुगेका थिए ।

आयुष श्रेष्ठ र शुलभ थापा मगर दुवै जना उच्च शिक्षाको उद्देश्यले काठमाडौं पुगेका होनहार युवा थिए । तर देशभर फैलिएको जेनजी आन्दोलनको क्रममा उनीहरूले सहभागी भएका प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भए । उपचारको क्रममा उनीहरूको निधन भएको थियो ।

मृत्यु भएको पाँच दिनपछि पार्थिव शरीर गृह जिल्ला ल्याइँदा नेपालगञ्जमा शोक, स्तब्धता र क्रोध मिसिएको माहोल थियो । नागरिक समाजका अगुवाहरूले आन्दोलनमा मारिएका युवाहरूका बलिदानलाई बेवास्ता गरिए शोक आक्रोशमा बदलिने चेतावनी समेत दिएका छन् ।

शव यात्रा भइरहेको बेला काठमाडौंमा नयाँ प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिइरहेकी थिइन् । नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनको खबर सुन्दै नेपालगञ्जका नागरिकहरूले शुलभ र आयुषलाई श्रद्धाञ्जली दिइरहेका थिए ।

शोकसन्तप्त परिवार र स्थानीयवासीहरूले भ्रष्टाचारविरुद्धको आवाज दबाउन नहुने र शुलभ आयुषजस्ता युवाहरूको बलिदानले देशमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने माग राखेका छन् । उनीहरूको चाहना छ अब कुनै युवाले देशको भविष्यका लागि ज्यान गुमाउन नपरोस् ।