काठमाडौं, २७ भदौ ।

जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा थप व्यक्तिहरुको मृत्यु भएपछि मृतकको संख्या ५१ पुगेको हो ।

मृतकमध्ये तीन जना सुरक्षाकर्मी, एक जना भारतीय नागरिक र बाँकी सबै नेपाली युवाहरु रहेका छन् । आन्दोलनको पहिलो दिन मात्र १९ जना जेन-जी समर्थकको ज्यान गएको थियो भने त्यसपछिका दिनमा गम्भीर घाइतेमध्ये केहीको अस्पतालमा मृत्यु भएपछि संख्या थपिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २९९ जना घाइतेको देशभरका विभिन्न अस्पतालमा उपचार जारी छ। तीमध्ये सबैभन्दा धेरै झापास्थित बीएनसी अस्पतालमा ५३ जना घाइते उपचाररत छन् ।

काठमाडौंस्थित सिभिल (निजामती कर्मचारी) अस्पतालमा २३ जना, ट्रमा सेन्टरमा ३२ जना, सिनामंगलको काठमाडौं मेडिकल कलेज (केएमसी) मा ३५ जना, त्रिवि शिक्षण अस्पतालमा २५ जना र नेपाल प्रहरी अस्पतालमा २८ जनाको उपचार भइरेहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, आन्दोलनका क्रममा घाइते भइ उपचारपछि निको भएका १ हजार ४६५ जना डिस्चार्ज भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।