काठमाडौं,२७ भदौ ।

ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीहरूलाई तुरुन्त सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ ।

कारागार प्रशासनले कानुनी प्रक्रिया तथा विधिको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनबमोजिम कडाइका साथ कारबाही हुने चेतावनीसमेत दिएको छ ।

जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका कैदीबन्दीहरू नक्खु कारागारबाट बाहिरिएका थिए । लामिछानेले आफूलाई कारागार प्रशासनले विधिसम्मत प्रक्रिया पूरा गरेर रिहा गरेको दाबी गरेका छन् ।

तर, कारागार प्रशासनले जारी गरेको सूचनामा नक्खु कारागार परिसरबाट फरार भएका सबै थुनुवा र कैदीबन्दीहरूलाई तुरुन्त सम्पर्कमा आउन अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ, विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्त यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई औपचारिक अपिल गरिन्छ ।”

साथै, तोकिएको समयभित्र सम्पर्कमा नआएमा तिनीहरूलाई कानुनी रूपमा फरारकै हैसियतमा व्यवहार गरिने र कानुनबमोजिम थप कारबाही अघि बढाइने कारागार प्रशासनले स्पष्ट पारेको छ ।