काठमाडौं, २६ भदौ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले वर्तमान राजनीतिक संकटको समाधान संविधानमै खोज्नुपर्ने आवश्यकता औंल्याउँदै, प्रधानमन्त्रीले राजीनामा दिए पनि राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संवैधानिक अंगहरू कायम रहेकाले राष्ट्रपतिको सक्रिय पहलमा वैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठन गर्नुपर्ने धारणा राखेकी छिन् ।

बिहीबार सार्वजनिक एक विज्ञप्तिमार्फत पूर्वराष्ट्रपतिले हालको सरकार ‘कामचलाउ’ अवस्थामा पुगेको स्वीकार गर्दै पनि देशको संविधानअनुसार गठित राष्ट्रपतिको संस्था र जननिर्वाचित संसद यथास्थितिमा रहेकाले संविधानमा व्यवस्था गरिएका प्रक्रियाहरू अबलम्बन गर्दै नयाँ मन्त्रिपरिषद् गठन गर्न सकिने स्पष्ट गरेकी हुन् ।

उनले राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक रूपमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएकी छिन् । सो क्रममा राष्ट्रपतिले पहल लिनुपर्ने आवश्यकता पनि उनले औंल्याएकी छिन् ।

भण्डारीले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त संविधानलाई उत्कृष्ट दस्तावेजको रूपमा मूल्यांकन गर्दै, अहिलेको जटिल परिस्थितिमा पनि त्यसकै मर्म र भावनालाई आत्मसात् गर्दै अघि बढ्न सुझाव दिइन् । उनले भनेकी छन्, “जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि समाधान संविधानको मर्मभित्रै खोज्नुपर्छ ।”

उनले हालैको आन्दोलनमा सहभागी ‘जेनजी’ पुस्ताको माग र आकांक्षालाई गम्भीरतापूर्वक लिन सरकार र राज्यसंयन्त्रहरूलाई आग्रह गरेकी छिन् । उनले भनिन्, “संविधानभित्रबाटै राजनीतिक समस्याको समाधान खोजिनुपर्छ, तर यो प्रक्रिया अघि बढाउँदा आन्दोलनकारी जेनजी पुस्ताको आवाज र चाहनालाई पनि गम्भीर ध्यान दिनु आवश्यक छ ।”

पूर्वराष्ट्रपतिले सामाजिक सञ्जाल बन्द गरेर नागरिक स्वतन्त्रतामाथि परेको असरप्रति चिन्ता व्यक्त गर्दै, जेनजी पुस्ताले लोकतन्त्र र स्वतन्त्रताको पक्षमा खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले भनिन्, “म विश्वास गर्छु, सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको नेपाली समाजलाई फेरि स्वतन्त्रताको परिवेशमा ल्याउने सपना बोकेको जेनजी पुस्ताले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी हुनेछ ।”

उनले आन्दोलनको ऊर्जा र उत्साहप्रति सम्मान जनाउँदै चेतावनी दिइन् कि उक्त उत्साह लोकतान्त्रिक व्यवस्थामाथि घात हुने किसिमका निर्णयमार्फत कुण्ठित हुन नदिनुपर्छ । “नागरिक सर्वोच्चतामा चोट पुग्ने कुनै निर्णय गर्नुहुँदैन,” उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।