काठमाडौं, २६ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रत्यक्ष पहलमा संवादमार्फत अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ ।

बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले हालको संक्रमणकालीन राजनीतिक परिस्थितिमा सबै दलबीच सहमति कायम गर्दै प्रधानमन्त्री चयनको मार्ग खोलिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले जारी गरेको जानकारीमा संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा रास्वपाले कहिल्यै सम्झौता नगर्ने स्पष्ट गरिएको छ ।

यस्तै, पार्टीले सुशासनका पक्षमा निर्णायक हस्तक्षेप गर्न सक्षम जेनजी पुस्ताको अनिवार्य सहभागितासहित सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयन हुनुपर्ने धारणा राखेको छ ।

सो प्रक्रियाबाट अघि सारिने उम्मेदवारप्रति रास्वपाले समर्थन रहने बताइएको छ । साथै, ती उम्मेदवारले बृहत् राजनीतिक अनुमोदन प्राप्त गरून् भन्ने शुभेच्छा समेत पार्टीले व्यक्त गरेको छ ।

रास्वपाले नेपालको संविधानअनुसार संघीय व्यवस्थापिका दुई सदनात्मक हुने प्रावधानको स्मरण गराउँदै राष्ट्रिय सभाको स्थायित्व र गतिशीलता कायम राख्नुपर्ने जनाएको छ ।

यस्तै, प्रतिनिधिसभा विघटनपश्चात संसद निष्क्रिय बन्ने अवस्थाबाट जोगिनका लागि ६ महिनाभित्र नयाँ निर्वाचन गराउनु अपरिहार्य रहेको ठहर गर्दै पार्टीले त्यसका लागि अन्तरिम सरकारको आवश्यकता औंल्याएको छ

। आन्दोलन र जनदबाबबाट आएको म्यान्डेटलाई सम्मान गर्दै ताजा जनादेश लिने प्रक्रिया सुरु गर्नु नै लोकतान्त्रिक अभ्यासको उपयुक्त मार्ग भएको रास्वपाको धारणा छ ।

पार्टीले राष्ट्रपतिबाट प्रत्यक्ष पहल र संवादको अपेक्षा गर्दै संविधानको व्यापक पुनरावलोकन आवश्यक भएको बताएको छ। हालै सम्पन्न आन्दोलनमाथि भएको दमन, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमा भएको आक्रमण लगायतका घटनालाई अक्षम्य हिंसात्मक कृत्यको संज्ञा दिँदै रास्वपाले त्यसको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग गरेको छ।

साथै, २०४६ सालपछि देखिएका ठूला भ्रष्टाचारका मुद्दाहरूको निष्पक्ष अनुसन्धान तथा न्यायिक निरुपणका लागि स्वतन्त्र आयोग गठन गरिनुपर्ने र नयाँ सरकार बनेको १५ दिनभित्रै उक्त प्रक्रिया सुरु गर्नुपर्ने पार्टीको माग छ ।