काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले मंगलबार दिउँसो राजीनामाबारे जानकारी दिएको हो ।

हिजोदेखि सुरु भएको जेनजी पुस्ताको आन्दोलन मंगलबार झन् उग्र बनेपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखकले सोमबारै राजीनामा दिएका थिए। मंगलबार बिहानै मन्त्रिपरिषद्का थप तीन मन्त्रीहरूले पनि पद त्याग गरेका छन् ।

केवल दुई दिनमै भड्किएको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ भने धेरै नेताहरूका घर र सम्पत्ति नष्ट भइसकेको छ ।

प्रदर्शनकारी संसद भवनदेखि सिंहदरबारसम्म प्रवेश गरिसकेका छन् । भैँसेपाटीस्थित मन्त्री आवास क्षेत्रबाट मन्त्रीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।