काठमाडौँ ।

काठमाडौँमा जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे। ट्रमा सेन्टरमा अहिले ५० जना घाइतेको उपचार भइरहेको छ, जसमा ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ भने, सिभिल अस्पतालमा उपचारका लागि ल्याइएका ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु भएको छ भने, टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। गोपाल सेडाइँले बताएका छन् ।

मृतकहरूको परिचय हालसम्म खुलेको छैन, तर मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि समावेश रहेको प्रारम्भिक जानकारी आएको छ । अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ।