काठमाडौँ ।

शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । परिसूचक नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा झरेको हो । यसअघि हिजो पनि नेप्से १९ अंकले ओरालो लागेको थियो ।

आज म्युचल फन्ड र व्यापारबाहेकका सबै समूहको शेयरमा गिरावट आएको छ । २१३ कम्पनीको शेयर मूल्य घट्दा ३९ कम्पनीको मात्रै बढेको छ ।

बजार घट्दाघट्दै पनि केही कम्पनीले भने वृद्धि देखाए । लिबर्टी इनर्जीको शेयर ७ प्रतिशतले घटेको बेला हिम स्टार ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ ।

कारोबार रकममा भने हल्का सुधार भएको छ । हिजो ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३२६ कम्पनीका १ करोड १३ लाख कित्ता शेयर किनबेच भई कुल कारोबार रकम ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।