कपिलवस्तु , १८ भदौ ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा नापतौल उपकरणहरूको परीक्षण तथा नवीकरण कार्य सम्पन्न भएको छ ।उक्त कार्य गुणस्तर तथा नापतौल कार्यालय, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो ।

संघका महासचिव नवदत्त घिमिरेका अनुसार, कार्यक्रममा कपिलवस्तु क्षेत्रका २१४ जना व्यवसायीहरूले आफ्ना नापतौल उपकरण परीक्षण गराउनुका साथै लाइसेन्स नवीकरण गराएका छन् ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले व्यवसायीहरूलाई सहज र सुलभ सेवा प्रदान गर्न गरिएको यस पहलले उपभोक्ता अधिकार र व्यवसायी हित दुवैलाई सघाउने विश्वास व्यक्त गरे ।

उनले भने, “नापतौलमा शुद्धता र पारदर्शिता केवल व्यवसायीका लागि मात्र होइन, उपभोक्ताका हक अधिकारसँग पनि जोडिएको विषय हो । यसलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले संघले यो कार्यक्रम सञ्चालन गरेको हो ।

व्यवसायीहरूले समयमै उपकरणको नवीकरण गरी उपभोक्तामा विश्वासिलो सेवा प्रदान गर्नु आवश्यक छ ।” कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय, बुटवलका सहायक निरीक्षक गुरु प्रसाद पाख्रेलको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो ।