कपिलवस्तु । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै आएको बाणगंगा नगरपालिका–११, ओदारीस्थित ओदारी माध्यमिक विद्यालयले हालै सार्वजनिक कक्षा–१२ को नतिजामा चम्किलो सफलता हासिल गरेको छ।विद्यालयका प्रधानाध्यापक मिना कुमारी चौधरीका अनुसार यस वर्ष कक्षा–१२ को परीक्षामा सहभागी २६ जना विद्यार्थीमध्ये ६१.५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो दर नगरपालिका भित्रका सामुदायिक विद्यालयमध्ये सबैभन्दा उच्च हो। उक्त तथ्याङ्क उहाँले साझा डायरीलाई बताउनुभयो

यस वर्ष विद्यालयकी छात्रा अस्मिता पौडेलले ३.३० जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक यात्रामा उल्लेखनीय योगदान पुर्‍याएकी छन्। यसअघि पनि विभिन्न परीक्षात्मक नतिजामा विद्यालयले उत्कृष्टता कायम गर्दै आएको प्रधानाध्यापक चौधरीले स्मरण गराउनु भयो।

उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई बधाई दिँदै उनले अहोरात्र मेहनत गर्ने शिक्षक–कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर अझ उकास्ने उद्देश्यले विद्यालय प्रशासन निरन्तर लागिपरेको उनले साझा डायरीलाई बताउनुभयो।यस अवसरमा विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मानसमेत गरेको छ।