बाणगंगा । बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित जनता माध्यमिक विद्यालयमा यही शैक्षिक सत्रदेखि बीबीए इन आर्टिफिसियल इन्टेलिजेन्स (BBA-AI) कार्यक्रम सञ्चालनमा आउने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता माध्यमिक विद्यालयबीच औपचारिक सहकार्यपछि उक्त कार्यक्रम सञ्चालन हुने भएको हो।

मंगलबार लुम्बिनी विश्वविद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले आपसी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार कार्यक्रम विश्वविद्यालय अन्तर्गत रहनेछ भने त्यसको शैक्षिक गतिविधि जनता माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ।

कार्यक्रममा बोल्दै उपकुलपति बज्राचार्यले, “विश्वविद्यालयको मूल उद्देश्य स्थानीय शैक्षिक संस्थासँग सहकार्य गर्दै गुणस्तरीय उच्च शिक्षा प्रवाह गर्नु भएको बताए । बीबीए एआईजस्तो नविन कार्यक्रमले सूचना प्रविधि र व्यवस्थापन क्षेत्रमा नयाँ युगको थालनी गर्ने उनको विश्वास छ । “स्थानमै बसेर अन्तर्राष्ट्रिय स्तरको अध्ययनको अवसर दिनु समयको माग हो,” उनले थपे।

त्यस्तै, नगरप्रमुख अर्यालले बाणगंगामै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने दुर्लभ अवसरको रूपमा व्याख्या गर्दै यसले नगरको शैक्षिक उन्नयनमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे।विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले विद्यालयमा विश्वविद्यालयस्तरको कार्यक्रम सञ्चालन हुनुले सम्पूर्ण क्षेत्रको शैक्षिक छवि परिवर्तन गर्ने र स्थानीय विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न टाढा जानुपर्ने बाध्यता हट्ने बताए।

यस कार्यक्रमले बाणगंगालगायत आसपासका विद्यार्थीहरूका लागि सूचना प्रविधिमा आधारित व्यवस्थापन शिक्षामा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।समारोहमा विश्वविद्यालयका उच्च पदाधिकारीहरू, नगर शिक्षा शाखाका प्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।