रुपन्देही। सैनामैना नगरपालिका वडा नं. ११ स्थित जरलैयामा स्थानीयको सक्रिय सहभागिता र संघीय सरकारको सहयोगमा सालझण्डी स्वास्थ्य चौकी निर्माण गरिएको छ। करिब २ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको यो स्वास्थ्य संस्था अब त्यहाँका किसान, गरिब, दुःखी तथा विपन्न वर्गका स्थानीय बासिन्दाहरूका लागि सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रका रूपमा स्थापित भएको छ।

स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक जग्गा खरिदमा स्थानीय संघ–संस्थाहरू र समाजसेवीहरूले उल्लेखनीय योगदान गरेका छन्। राजापानी सामुदायिक वन उपभोक्ता समूहले ३७ लाख, राजापानी खानेपानी उपभोक्ता समूहले ५ लाख, चिसापानी खानेपानी समूहले ५ लाख, राजापानी फर्निचर तथा सहमिलले १ लाख, र स्थानीयवासीहरूले चन्दा संकलनबाट २ लाख संकलन गरेका थिए। यसरी जम्मा ५० लाख रुपैयाँमा जग्गा खरिद गरिएको थियो।

जग्गा खरिदपश्चात् जग्गाधनीले पुनः १ लाख ७० हजार रुपैयाँ रकम फिर्ता गरी सामाजिक भावनाको उदाहरण प्रस्तुत गरेका छन्। सो फिर्ता रकमलाई स्थानीयहरूले एम्बुलेन्स खरिदको लागि सुरक्षित राखेका छन्।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि आ.व. २०८१।०८२ मा संघीय सरकारबाट ६३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। यो सम्पूर्ण जानकारी वडा नं. ११ का वडा सदस्य अशोक कुमार भुसालले साझा डायरीलाई जानकारी दिनुभयो ।

अब जरलैया क्षेत्रका सर्वसाधारण, विशेष गरी किसान, वृद्ध, महिला, बालबालिका र आर्थिक रूपमा पछाडि परेका वर्गका नागरिकहरूले आफ्नै गाउँमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन्। यसले दीर्घकालीन रूपमा गाउँको स्वास्थ्य अवस्था सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय स्रोत साधनको समुचित उपयोग, सामाजिक ऐक्यबद्धता, र सरकारी सहयोगको उदाहरणीय नमुनाको रूपमा यो परियोजना सैनामैनाको अन्य वडाका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास लिइएको छ।