बाणगंगा । मधुवन सामुदायिक वन उपभोक्ता समूहले आर्थिक रूपमा विपन्न र सीमान्तकृत वर्गका परिवारलाई लक्षित गर्दै बहुआयामिक सामग्री वितरण गरेको छ। शनिवार वनकै सभा हलमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा, घरको चापी हस्तान्तरण, कृषि औजार, वाद्य वादन सामग्री र खेलकुद सामग्री वितरण गरिएको हो।

कार्यक्रमको उद्देश्य सामाजिक रूपान्तरण, आर्थिक सशक्तिकरण र समुदायमा आत्मनिर्भरता अभिवृद्धि गर्नु रहेको समूहले जनाएको छ। सामुदायिक वनले आफ्ना उपभोक्ताको जीवनस्तर उकास्न तथा सामाजिक सुरक्षा सञ्जालमा समेट्न विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी प्रसाद पौडेलले सामुदायिक वनको प्रयास सामाजिक रूपान्तरणको उत्कृष्ट नमुना भएको बताउँदै भने, “सामुदायिक वनले विपन्न तथा सीमान्तकृत वर्गका लागि वितरण गरेका सामग्रीहरू दीर्घकालीन रूपमा उपयोगी हुनेछन्। यस्ता कार्यक्रमहरूले समाजमा स्थायी परिवर्तन ल्याउन मद्दत गर्छ।”

बाणगंगा नगरपालिकाकी उप–प्रमुख रिता कुमारी चौधरीले सामुदायिक वनको सक्रियता, समर्पण र विपन्न वर्गप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै भनिन्, “समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै प्रेरणादायी छन्। आत्मनिर्भर समुदायको आधार बनाउने काम सामुदायिक वनले गरिरहेको छ, जुन अत्यन्त प्रशंसायोग्य छ।”

वडा नं. ८ का कार्यवाहक अध्यक्ष विश्वास जिसीले सामुदायिक वनले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको प्रशंसा गर्दै भने, “सामुदायिक वनको सामाजिक सहभागिता, पारदर्शिता र जनउत्तरदायित्वले उदाहरणीय कार्यशैली स्थापित गरेको छ। वन समूहको प्रतिबद्धता सहर र गाउँ दुवैका लागि प्रेरणा हो।”

मधुवन सामुदायिक वनका अध्यक्ष शान्त विक्रम पौडेलले समूहको वार्षिक कार्ययोजना अनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर अगाडि बढाइएको जानकारी दिँदै भने, “वातावरण संरक्षण, स्रोत व्यवस्थापन र सामाजिक समावेशीताको समुचित सन्तुलन कायम राख्दै हामीले विपन्न वर्गका लागि प्रत्यक्ष लाभ पुग्ने कार्यहरू प्राथमिकतामा राखेका छौं।”

सामग्री वितरण विवरण:
स्वास्थ्य बीमा: १४२ जना अति विपन्न उपभोक्तालाई

आवास सहयोग: ५ वटा विपन्न परिवारलाई घर निर्माण गरी चापी हस्तान्तरण

खेलकुद सामग्री: १४ वटा युवा खेलाडी टोलिलाई क्रिकेट, फुटबल र भलिबल

सांस्कृतिक सामग्री: मौलिक संस्कृति जगेर्ना हेतु ११ समूहलाई मादल, खैजडी, मजुरा तथा ५ हार्मोनियम

कृषि औजार: कृषक समूहलाई १३ थान मकै छोड्ने मेसिन, १८ थान स्प्रे, १२ थान मकै रोप्ने मेसिन, ४ थान घाँस काट्ने मेसिन

उद्यम प्रवर्द्धन: समूहद्वारा उत्पादित जडिबुटी चिया पिस्ने १ थान मेसिन

स्वास्थ्य संचार: ४ जना स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सेट वितरण

कार्यक्रममा उप–प्रमुख चौधरी, डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मदन ढुङ्गाना, वडा नं. ८ का कार्यवाहक अध्यक्ष विश्वास जिसी, सब-डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अन्सारी, लेखा समिति सल्लाहकार, पूर्व अध्यक्षहरू, छिमेकी संघसंस्था, विद्यालय र क्याम्पसका प्रमुख, पत्रकारलगायतको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागी समुदाय सदस्यहरूले यस्ता कार्यक्रमले वास्तविक राहत र आत्मसम्मानको अनुभूति गराएको प्रतिक्रिया दिएका थिए।

उक्त कार्यक्रमको स्वागत मन्तव्य वनका उपाध्यक्ष शालिकराम भुसालले गर्नुभएको थियो भने सञ्चालन वनकी सचिव अनिता थापाले गर्नुभएको थियो।