कपिलवस्तु । घर आँगन सफा राखौं, वातावरण स्वच्छ बनाऔं भन्ने मूल नारासहित बाणगंगा नगरपालिका वडा नं. २ पिपरामा सरसफाई अभियान सञ्चालन गरिएको छ। शनिबार बिहान ७ बजेबाट सुरु गरिएको यो अभियान राजमार्ग क्षेत्रमा लक्षित गर्दै सञ्चालन गरिएको हो।

बाणगंगा नगरपालिका वडा नं. २ को नेतृत्वमा र बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको सम्पूर्ण व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो। संस्थाका अध्यक्ष विश्व कार्कीले राजमार्ग क्षेत्रमा सफाई गर्नु केवल देखिने स्वरूप मात्र नभई स्वास्थ्य, पर्यटन र वातावरणीय सन्तुलनका लागि पनि आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता अभियानले समाजमा सरसफाइप्रतिको चेतना बढाउने विश्वास व्यक्त गर्नुभयो।

वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थानीय तहको सक्रियतामा सञ्चालित यस्तो अभियानले बानी परिवर्तनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सबै स्थानीय बासिन्दालाई घर वरिपरि सफा राख्न, फोहोर नगर्न र सरसफाइलाई जीवनशैलीको अभिन्न अंग बनाउन आह्वान गर्नुभयो।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा बेसक्याम्प, पिपरा कोठी महिला सामुदायिक वन उपभोक्ता समूह, स्थानीय बासिन्दा, समाजसेवी तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले राजमार्ग क्षेत्रलाई सफा राख्नका लागि स्थानीय तह र समुदायको सहकार्यमा गरिएको प्रयासको उदाहरण प्रस्तुत गरेको छ।