कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा असार २१ गते शनिबार बाणगंगा नगरपालिका–२, पिपरामा “एसईई तथा स्ववियु सम्मान कार्यक्रम–२०८२” सम्पन्न भएको छ।

कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४.० जिपिए ल्याउने मेधावी विद्यार्थीहरू र स्ववियु निर्वाचनमा निर्वाचित प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुजन कडरियाले, “विद्यार्थी आन्दोलनले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रोत्साहन गर्नुका साथै जिम्मेवारीबोध गराउने काम गर्छ,” भन्नु भयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी ढंगले विद्यार्थीहरूको नेतृत्व विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिने स्पष्ट पार्नुभयो।

कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इञ्चार्ज गिरीधारीलाल न्यौपानेले भने, “नेतृत्व भनेको केवल पदमा पुग्ने कुरा होइन, त्यो जिम्मेवारी हो। विद्यार्थी राजनीतिमा लागेका युवाहरूले अध्ययन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउनु पर्छ। आज सम्मानित प्रतिनिधिहरूले भविष्यमा राष्ट्रको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ,” भन्दै नेतृत्व विकास र संगठन सुदृढीकरणप्रति जोड दिनुभयो।

नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य एवं विद्यार्थी फाँट इञ्चार्ज सुन्दर पाण्डेले भने, “विद्यार्थी संगठनहरू केवल नाराबाजीका लागि होइनन्, सामाजिक रूपान्तरणको आधारशिला हुन्। यस्ता कार्यक्रमले शिक्षित, जिम्मेवार र जागरूक नेतृत्व निर्माणमा सहयोग गर्छ,” भन्दै युवाहरूलाई निरन्तर अध्ययन, संगठन र संघर्षमा जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य आर्जन रिजाल, केन्द्रीय सदस्य बिष्णु घिमिरे, अनेरास्ववियु लुम्बिनी प्रदेश संयोजक रमेश ढकाल, सह–संयोजक अन्जित खनाल, तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य एवं पूर्व अनेरास्ववियु अध्यक्ष टुकलाल गैरेको अतिथी रहेको थियो।

कार्यक्रमको उद्देश्य उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै थप प्रोत्साहन गर्नु, र विद्यार्थी राजनीतिमा निर्वाचित प्रतिनिधिहरूलाई नेतृत्वदायी क्षमताको विकास गर्न उत्प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।

सम्मानका साथै सहभागी विद्यार्थीहरूलाई नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण तथा प्रगतिशील आन्दोलनसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो।अनेरास्ववियुले “देशभरिका सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरू एकजुट होऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी दिनमा यस्ता सशक्त र उद्देश्यपरक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।