कपिलवस्तु, बाणगंगा–८। मधुबन सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा जेष्ठ नागरिक तथा नवजात शिशु भएका सुत्केरी महिलाहरूलाई लक्षित गरी पोषण सामग्री वितरण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।कार्यक्रममा ७१ वर्षभन्दा माथिका १६८ जना जेष्ठ नागरिकहरूलाई सम्मानसहित पोषण सामग्री वितरण गरिएको थियो। साथै, ३९ जना सुत्केरी महिलाहरूलाई मह, न्वाउनी घ्यू, अण्डाजस्ता पोषणयुक्त सामग्री प्रदान गरिएको हो।

उक्त कार्यक्रम मधुबन सामुदायिक बनको सभा हलमा सम्पन्न भएको थियो। कार्यक्रममा सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत यजाज महमत अन्सारी प्रमुख अतिथि र अध्यक्षता सामुदायिक बनका अध्यक्ष शान्त विक्रम पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि अन्सारीले सामुदायिक बनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जेष्ठ नागरिक र सुत्केरी लक्षित कार्यक्रम सञ्चालन गर्नु उल्लेखनीय भएको बताउनुभयो। उहाँले यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने उल्लेख गर्नुभयो।

त्यसैगरी वनका अध्यक्ष शान्त विक्रम पौडेलले बन समूहले सामाजिक सरोकारका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो। उहाँले समुदायको सहभागिता र साथ बिना यस्ता कार्यक्रम सम्भव नहुने भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो।कार्यक्रममा उपाध्यक्ष शालिकराम भुसालले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चालन सचिव अनिता थापाले गर्नुभएको थियो।आयोजक संस्थाले कार्यक्रममा उपस्थित भई साथ र सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।