बाणगंगा, कपिलवस्तु। महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजना र सामाजिक विकास डिभिजनको आर्थिक सहयोगमा बाणगंगा पुलचोकमा जुटको झोला बनाउने तालिम सुरु गरिएको छ। तालिमको उद्घाटन एक विशेष समारोहबीच सम्पन्न भएको थियो।

उक्त कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष कल्पना कुँवरले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल हुनुहुन्थेयो। प्रमुख अतिथि पौडेलले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, महिलाहरू आत्मनिर्भर बने देश समृद्धितर्फ अगाडि बढ्छ। यस्ता सीपमूलक तालिमहरूले महिलाहरूमा आत्मबल वृद्धि गर्छ र रोजगारीको अवसर सृजना गर्छ।

त्यसैगरी, विशिष्ट अतिथि नेकपा एमाले बाणगंगा नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालले भन्नुभयो,राजनीतिक परिवर्तन मात्र पर्याप्त छैन, अबको आवश्यकता आर्थिक र सामाजिक परिवर्तन हो, र त्यो महिलाको सक्रिय सहभागिता बिना सम्भव छैन।

वडा नं.८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले नगरपालिकाले यस्ता सीप विकासका कार्यक्रमहरूप्रति सदैव सकारात्मक सहयोग पुर्‍याउँदै आएको छ।कार्यक्रममा टोल विकास संस्था पुलचोकका अध्यक्ष, तालिम प्रशिक्षक तथा स्थानीय पत्रकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संघकी कोषाध्यक्ष मानकुमारी गिरीले गर्नुभएको थियो। तालिममा बाणगंगा नगरपालिकाका सबै वडाबाट सहभागी महिलाहरूको सहभागिता रहेको छ।संघले उक्त तालिममार्फत महिलाहरूलाई स्वरोजगार र उद्यमशिलताको मार्ग देखाउने लक्ष्य राखेको जनाएको छ।