कपिलवस्तु, वैशाख २१। लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अवरुद्ध भएको छ। शनिबार रातिदेखि सडक अबरुद्ध हुँदा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )मधु नेपालका अनुसार दाउन्ने क्षेत्रमा हिलो र चिप्लोपनका कारण सवारी साधन सञ्चालन असम्भव भएपछि सडक बन्द गरिएको हो। सडक अत्यधिक चिप्लो भएकाले दुर्घटनाको जोखिम रहँदा यात्रुहरूले उक्त मार्ग प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ।

सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने भएकाले यस मार्गमा यात्रा सधैं कष्टकर हुने गरेको छ। यस्तै, विस्तार कार्यलाई तीव्र पार्न राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिँदै आएको प्रहरीले जनाएको छ। सडक अझै अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले पुनः अनुरोध गरेको छ।