कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.८ बोडगाउँमा प्रदिप कम्प्युटर एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ्ग ईस्टिच्युट संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले उद्घाटन गरेसंगै ईस्टिच्युट संचालनमा आएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले हरेक दिन हजारौं युवाहरु रोजगारी र उच्च शिक्षाका लागि विदेश प्लायन भईरहेको परिवेशमा यस्तो व्यवसाय युवाले संचालन गर्नु सुखद पक्ष भएको बताईन् । उनले युवा यस्तो प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताईन् । आफुमा निहित ज्ञान र सिपलाई स्वदेशमै सदुपयोग गरेर स्वरोजगार बन्न सकिने उनले बताईन् ।

दृढ ईच्छा शक्ति र परिश्रम गरे नेपालमै मनग्य आम्दानी गर्न सकिने उनको भनाई छ । त्यसका लागि स्थानीय सरकारले गर्ने सहयोग गर्न बाणगंगा नगरपालिका प्रतिवद्ध रहेको उनले बताईन् ।

संचालक प्रदिप चौधरीले जे गर्छु नेपालमै गर्छु, गाउँमै गर्छु भन्ने संकल्पका साथ आफुले व्यवसाय सुचारु गरेको बताए । उनले २० जना गरिब तथा जेहेन्दार विधार्थीहरुलाई छनोट गरि निःशुल्क कम्प्युटर कोर्स गराउने बताए ।

कम्प्युटर कक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । युवाहरु स्वेदशमै स्वरोजगार बन्न सक्छन् भन्ने उदाहरण आफुले प्रस्तुत गर्ने र त्यसले अन्य युवालाई समेत देशमै केही गर्ने प्ररेणा मिल्ने उनको विश्वास छ ।

उनले बेसिक कम्प्युटर कोर्षदेखि डिप्लोमा ईन ग्राफिक डिजाईन, डिप्लोमा ईन कम्प्युटर एप्लिकेशन, बेसिक आर्ट कोर्ष, डिप्लोमा ईन वर्ड कराफ्ट लगायतका कक्षाहरु हुने जानकारी दिए ।