कपिलवस्तु। तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा आज शुक्रबार कपिलवस्तु बाणगंगामा स्थित जन्ता मा.वि. पिपरामा वृक्षरोपण गरिएको छ ।अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा जन्ता मा.वि. पिपरामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले मदन नरहे पनि उहाँको विचार, एकता, योगदान यो मुलुका लागि अविस्मरणीय रहेको बताए ।

एमाले अहिले पनि मदनले देखाएको बाटोमा हिडेको र मदनले देखाएको मार्ग कार्यान्वयनमा अबको पुस्ता पनि सक्रिय हुनुपर्ने खनालले बताए । मदनको जन्मजयन्ती पारेर अनेरास्ववियुले वातावरण संरक्षमा टेवा पुर्याउन वृक्षारोपण कार्यक्रम आयोजना गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

उक्त कार्यक्रममा अनेरास्ववियु लुम्बिनी प्रदेश कोषाध्यक्ष अन्जित खनाल, अनेरास्ववियु २३ औं जिल्ला सम्मेलन कपिलवस्तुका संयोजक बिष्णु घिमिरे उक्त सम्मेलनका जिल्ला सहसयोेजंक निशान खड्का,सम्मेलनका सदस्य पारस मरासिनी,पशुपति गिरी,शेषकान्त मरासिनी,सुदिप खनाल ,अनेरास्ववियु बाणगंगा नगर कमिटी अध्यक्ष प्रवाकर वि.सी. , उक्त नगर कमिटीका पदाधीकारी,सदस्यहरु,जन्ता मा.वि.का शिक्षक,विद्यार्थीहरु लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको अनेरास्ववियु औं जिल्ला सम्मेलन कपिलवस्तुका सह संयोजक निशान खड्काले जानकारी दिए ।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । सोही घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।