काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् ।

विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छु, प्रधानमन्त्री प्रचण्डले भने, गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालको विकासमा लगाउनु छ, यसका लागि नवीनता र सकारात्मकता सोच ल्याउन अपरिहार्य भइसकेको छ ।

जबसम्म व्यक्तिले आफूभित्रका ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने उनको भनाइ थियो ।

उनले आध्यात्मिक जागरण र साधनाविना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरे पनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए ।भित्रबाट अशान्त र अतृप्त व्यक्तिबाट आफ्नो हित र समाज एवं राष्ट्रको हित हुने कर्म गर्न सम्भव हुँदैनु, प्रधानमन्त्री प्रचण्डले भने, त्यसैले आफूभित्रबाटै प्रसन्न, शान्त, सहृदयी, आत्मविश्वासी, सुखी, ज्ञानी, दृढसङ्कल्पित र आनन्दित जनशक्तिको विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।

आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहनका लागि हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको उनले बताए ।​​ विज्ञानसम्मत प्रयोगात्मक साधनालाई हरेक व्यक्तिको जीवनशैली बनाउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा उनको जोड थियो ।यो शताब्दीमा मात्रै ८० वर्ष लामो राजनीतिक सङ्क्रमण, जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका दर्जनौं समस्या बेहोरिसक्यौुं, प्रधानमन्त्री प्रचण्डले भने ।

आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै उनले त्यही क्रान्तिको फलस्वरुप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताए ।