हेटौँडा ।

मकवानपुरको रातोमाटेबाट ५ लाख रुपैयाँ बढी भारतीय रकमसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट भारतीय रकम ५ लाख ४९ हजार १०० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक सुन्दरकुमार कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलीले वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको विआर ०१ एआर २९९१ नम्बरको भारतिय कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको भारतीय रकम फेला परेको हो । आशंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त कारको सिट मुनी लुकाई ल्याइएको सो रकम प्रहरीले फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट ५०० को भारतीय नोट १ हजार ४२ थान ९५,२१,०००।–०, २०० को नोट ९३ थान ९१८,६००।–०, १०० को नोट ९३ थान ९९३००।–० र ५० को नोट ४ थान ९२००‍।(० गरी कुल ५ लाख ४९ हजार १०० रुपैयाँ फेला परेको हो । उनीहरुको साथबाट नेपाली रुपैयाँ एक हजारका नोट १५० थान, ५०० को नोट २०० थान गरी २ लाख ५० हजार रुपैयाँ फेला परेको सूचना अधिकारी पौडेलले बताए ।

उक्त रकमसहित प्रहरीले कार चालक भारत बिहार सितामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० को राकेशकुमार, कारमा सवार सोही स्थान बस्ने वर्ष ३० को चन्द्र बाबु, वर्ष ३७ को अशोक राय, नेपालको सुनसरी कोशी गाउँपालिका वडा नम्बर–४ बस्ने वर्ष ३२ को निजाम मियालाई पक्राउ गरिएको सूचना अधिकारी पौडेलले बताए ।

प्रहरीका अनुसार सो रकमसहित भारतीय नागरिकहरु रक्सौल नाकाबाट वीरगञ्ज हुँदै आएको र नेपाली नागरिक मिया सुनसरीबाट महोत्तरी हुँदै पथलैयाबाट सो कारमा चढेको खुल्न आएको छ । पक्राउ परेका ४ जनासहित कारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको सूचना अधिकारी पौडेलको भनाई छ ।

प्रहरीले पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको छ ।