काठमाण्डौ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरूद्ध आज उजुरी दिन सकिनेछ।

निर्वाचन आयोगले आज उम्मेदवारहरू विरूद्ध दाबीविरोध र उजुरी दिन सकिने बताएको हो।

निर्वाचन आयोगका अनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उनीहरूविरूद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने आयोगले बताएको छ।

पुसको २७ गते उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ। र, त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले बताएको छ।ती उम्मेदवारहरूलाई पुस २८ गते चुनाव चिह्न दिइने छ।माघ ११ गते हुने निर्वाचनमा सात प्रदेशमा एकरएक मतदानस्थल र दुईरदुई मतदान केन्द्र तोकिएको छ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ। निर्वाचनमा सात प्रदेशबाट महिला, दलित, अपाङ्गताअल्पसङ्ख्यक र अन्य क्लस्टरबाट सदस्य निर्वाचित गरिने छ।फागनु २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदैछ। १९ सांसद विभिन्न क्षेत्रबाट निर्वाचित भएका हुन् भने एकजना राष्ट्रपतिबाट मनोनीत भएका हुन्।रिक्त हुन लागेको १९ पदमा एक महिनाअगावै चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप निर्वाचन हुन लागेको हो।