कपिलवस्तु, बाणगंगा। बाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित कार्यक्रमअन्तर्गत वृहत रूपमा लक्षित वर्ग सहयोग तथा विभिन्न सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

सामुदायिक वनले वनबाट प्राप्त आम्दानीलाई वन संरक्षणमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, असहाय तथा लक्षित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा २२८ जना एकल महिला, एकल पुरुष तथा अपाङ्गता भएका व्यक्तिलाई नगद सहयोग वितरण गरिएको थियो। त्यसैगरी ५ वटै टोलका आवश्यकता अनुसार क्रिकेट, फुटबल, भलिबल लगायतका खेलकुद सामग्री, विभिन्न आमा समूह तथा सांस्कृतिक समूहलाई बाजा, हार्मोनियम, भजन–कीर्तन तथा अन्य वाद्यवादन सामग्री, ५ जना असहाय परिवारलाई खाद्यान्न सहयोग, महिला समूहहरूलाई पोशाक (ड्रेस)तथा टोल नं. ४ लाई क्याटरिङ सामग्री समेत हस्तान्तरण गरिएको थियो।

यसै अवसरमा सामुदायिक वनले आफ्ना उपभोक्तामध्ये आर्थिक रूपमा विपन्न २२ परिवारका लागि शौचालय निर्माण गरी चाबी हस्तान्तरण गरेको छ। पूर्ण सरसफाइ अभियानलाई सफल बनाउने, खुला दिसामुक्त अवस्थालाई दीगो बनाइराख्ने तथा सबै नागरिकको सुरक्षित र मर्यादित सरसफाइमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले शौचालय निर्माण गरिएको सामुदायिक वनले जनाएको छ। वनले वातावरण संरक्षणसँगै स्वास्थ्य, सरसफाइ र सामाजिक विकासलाई समेत समान प्राथमिकतामा राख्दै कार्य गर्दै आएको छ।

सहयोग प्राप्त गरेका उपभोक्ताहरूले सामुदायिक वनले आफूहरूको आवश्यकता पहिचान गरी प्रत्यक्ष रूपमा राहत र सहयोग पुर्‍याएको भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूले वनले संरक्षणसँगै समाज विकासका कामलाई निरन्तरता दिइरहेकाले यस्ता कार्यक्रम आगामी दिनमा पनि विस्तार हुनुपर्ने धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक विकासका क्षेत्रमा उदाहरणीय काम गरिरहेको बताउँदै यस्ता गतिविधिले स्थानीय सरकारको विकास अभियानलाई समेत थप प्रभावकारी बनाएको उल्लेख गर्नुभयो। उहाँले नगरपालिका र सामुदायिक वनबीच विगतदेखि नै विभिन्न साझेदारीका कार्यक्रम सञ्चालन हुँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि वन संरक्षण, वातावरण व्यवस्थापन, पूर्वाधार विकास, सरसफाइ तथा समुदायको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि तथा कपिलवस्तु डिभिजन वन कार्यालयका सहायक प्रमुख मदन ढुंगानाले सामुदायिक वनहरू वन संरक्षणसँगै सामाजिक तथा आर्थिक विकासका प्रभावकारी माध्यम बन्दै गएको बताउनुभयो। उहाँले वनबाट प्राप्त आम्दानीलाई पारदर्शी ढंगले समुदायको हितमा परिचालन गर्नु नै सामुदायिक वनको वास्तविक उद्देश्य भएको उल्लेख गर्दै मधुवन सामुदायिक वनले त्यसको उत्कृष्ट अभ्यास प्रस्तुत गरेको धारणा राख्नुभयो। उहाँले वन संरक्षण, जैविक विविधताको संरक्षण र समुदायको समृद्धिलाई सँगसँगै अघि बढाउन आग्रह गर्नुभयो।

बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालले सामुदायिक वनले स्थानीय सरकारले गर्नुपर्ने धेरै सामाजिक तथा विकास निर्माणका काममा समेत उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो। वन उपभोक्ताको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै आगामी दिनमा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारी**ले वन संरक्षण र समुदायको विकास एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्दै वनको आम्दानीलाई जनमुखी कार्यक्रममार्फत सदुपयोग गर्नु अनुकरणीय कार्य भएको बताउनुभयो। उहाँले वन संरक्षण, सुशासन, पारदर्शिता र उपभोक्तामैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपक कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू, लेखा संयोजक, सल्लाहकार, टोल अध्यक्षलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष अमर कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव दिवकला सुनारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वनबाट प्राप्त आम्दानीलाई वन संरक्षणसँगै शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुद, संस्कृति संरक्षण, सामाजिक सुरक्षा तथा विकास निर्माणका विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको मधुवन सामुदायिक वन उपभोक्ता समूहले समुदायको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्थानीयवासीहरूले बताएका छन्।