कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ। देशका विभिन्न क्षेत्रमा दलगत संगठनको प्रभाव देखिँदा यहाँ भने व्यक्तित्व केन्द्रित बहस तीव्र बनेको छ। यही सन्दर्भमा कृष्णबहादुर कुँवर चुनावी चर्चाको केन्द्रमा देखिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका कुँवरलाई समर्थकहरूले ‘समाजसेवी छवि’ भएको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका छन्। स्थानीय भूगोल, सामाजिक संरचना र समुदायसँगको सम्बन्धका कारण उनी मतदातामाझ सहज पहुँच बनाइरहेको दाबी गरिएको छ।

कपिलवस्तु–१ मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेस का अतहर कमाल मुसलमान, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विश्राम प्रसाद थारु, राष्ट्रिय स्वतन्त्र पार्टी का मोहन आचार्य तथा स्वतन्त्र उम्मेदवार आशिष शर्मा पनि प्रतिस्पर्धामा छन्। पुराना र नयाँ अनुहारबीचको भिडन्तका रूपमा समेत यो निर्वाचनलाई हेरिएको छ।

स्थानीय तहमा भइरहेको छलफलमा कतिपय मतदाताले संगठनभन्दा उम्मेदवारको व्यक्तिगत छवि र सामाजिक योगदानलाई प्राथमिकता दिनुपर्ने धारणा राखिरहेका छन्। एक स्थानीय बुद्धिजीवीका अनुसार, “पार्टीभन्दा पनि उम्मेदवारको इमान्दारिता, क्षमता र समुदायसँगको सम्बन्ध महत्वपूर्ण हुन्छ।”

यद्यपि विश्लेषकहरू संगठनात्मक संरचना र मत व्यवस्थापन चुनावी जितका प्रमुख आधार हुने बताउँछन्। त्यसैले व्यक्तित्वको प्रभाव देखिए पनि अन्तिम परिणाममा दलगत शक्ति निर्णायक बन्न सक्ने आँकलन गरिएको छ।

स्वयं कुँवरले आफू विकास, पारदर्शिता र सुशासनको एजेन्डासहित मैदानमा रहेको बताउँदै मतदाताले सही मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन्।