कपिलवस्तु । कपिलवस्तु जिल्लामा एकैपटक तीन स्थानमा शंकास्पद बस्तु फेला परेपछि जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । सुरक्षा स्रोतका अनुसार जिल्लाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेसँगै सुरक्षा निकाय सतर्क अवस्थामा रहेको छ ।

स्रोतका अनुसार हुलाकी राजमार्ग अन्तर्गत बर्गदी पुल नजिकै एक सानो टिनको बट्टा फेला परेको छ । यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत ड्राईनाला नजिकै एक थान हुक्स बम फेला परेको र उक्त बम भएको विषय पुष्टी भइसकेको बताइएको छ ।

त्यस्तै बनकसबासा नजिकै पनि तारले प्याक गरिएको पहेंलो रंगको शंकास्पद बस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।

तीन स्थानमा एकैपटक शंकास्पद बस्तु फेला परेपछि आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा चुनौती बढेको अनुमान गरिएको छ । घटनापछि स्थानीयवासी, मतदाता तथा सरोकारवाला पक्षहरूमा त्रास र चिन्ता बढेको छ ।

सुरक्षा निकायले घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था कडा बनाउँदै शंकास्पद बस्तुहरू निष्क्रिय पार्ने तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै सर्वसाधारणलाई अफवाहमा नलाग्न र शंकास्पद गतिविधि देखिए तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ