कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका–१ र ६ नम्बर वडामा पर्ने चिरई खोलाको थरौली भाठामा ट्रस्टस्पान प्रविधिको झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि शनिबार स्थलगत सर्वेक्षण सम्पन्न गरिएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख बाेधराज भुसालले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय पुँजी कोष को साझेदारीमा सञ्चालित (LoCAl) लाेकल परियोजनाकाे आर्थिक सहयोग र लिडो नेपालकाे प्राविधिक सहयोगमा पुल निर्माण हुनेछ । लिडाे नेपालका संस्थाका सचिव मोहरत प्रसाद कुर्मीका अनुसार करिब १ करोड २० लाख रुपैयाँकाे लागतमा पुल निर्माण गरिनेछ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पुल निर्माणका लागि ‘थरौली भाठा ट्रस्टस्पान उपभोक्ता समिति’ गठन गरिएको जानकारी दिए । उनका अनुसार निर्माण प्रक्रिया छिट्टै अघि बढाइनेछ ।

हाल चिरई खोलामा पुल नहुँदा स्थानीयवासी र दिनहुँ सयौं विद्यार्थीलाई आवतजावतमा कठिनाइ भोग्नुपरेको छ । वर्षायाममा जोखिम बढ्ने भएकाले नयाँ पुल निर्माणसँगै स्थानीय आवागमन सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।