काठमाडौँ ।

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारहरूको म्याद थप्न नसक्ने जानकारी गराएको छ ।

कोरियाली पक्षले नेपाली कामदारकै लागि मात्र रोजगार अनुमति प्रणाली (ईपीएस) का नियम परिवर्तन गर्न नसकिने जानकारी गराएको वैदेशिक रोजगार विभागकी निर्देशक तथा सूचना अधिकारी बिन्दा आचार्यले बताउनुभयो ।

दुई वर्षे रोस्टर अवधि सकिन लागेका नेपाली कामदारहरूले म्याद थप गर्नुपर्ने, काम गर्ने क्षेत्र परिवर्तन गर्न पाउनुपर्ने लगायत माग राख्दै वैदेशिक रोजगार विभागको ईपीएस शाखामा प्रदर्शन गरेपछि नेपाल सरकारले कोरियाली प्रतिनिधिसँग छलफल गरेको हो ।

छलफलका क्रममा कोरियाली पक्षले नेपालसहित १७ देशमा एकरूप रूपमा लागू गरिएको ईपीएसको नियम नेपालका लागि मात्र परिवर्तन गर्न नसकिने स्पष्टरूपमा जनाएको छ । यससँगै भाषा परीक्षा उत्तीर्ण भई कोरिया जाने प्रतीक्षामा रहेका झन्डै ९ हजार जना नेपालीको रोस्टर म्याद सकिने देखिएको छ ।

भाषा परीक्षा उत्तीर्ण गरेकाहरूले आन्दोलन गरिरहेपछि कोरियाले काठमाण्डाैमा कार्यरत आफ्ना कर्मचारीहरूको सुरक्षाप्रति चासो व्यक्त गरेको छ ।

कोरियाली भाषा परीक्षा दिन देशभरिबाट परीक्षार्थीहरू काठमाण्डाै आउने गरेका छन् । परीक्षा शुल्कबापत प्रतिव्यक्ति २८ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ भने भाषा कक्षाका लागि पनि महँगो शुल्क खर्च गर्नुपर्छ ।

भाषा परीक्षा उत्तीर्ण भइसकेका व्यक्तिहरू कोरिया जान नपाउँदा उनीहरूको लगानी डुब्नुका साथै निराशा बढ्ने जोखिम रहेको श्रमविज्ञहरूले बताएका छन् ।