कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ स्थित बुड्ढी तालमा ८औं बुद्धभूमि नगरस्तरीय माघी महोत्सव आयोजना हुने भएको छ । थारु कल्याणकारिणी सभा बुद्धभूमिको आयोजनामा हुने महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

महोत्सव पौष २९ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने जानकारी थारु कल्याणकारिणी सभा बुद्धभूमिका कार्यवाहक अध्यक्ष सुसिल कुमार चौधरीले दिनुभयो । उहाँका अनुसार महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । महोत्सव थारु संस्कृति, परम्परा र पहिचानको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

अध्यक्ष चौधरीले भने, महोत्सवमार्फत समाजमा विद्यमान विकृतिको अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै शिक्षामा थारु समुदायको पहुँच वृद्धि गर्ने पहल समेत गरिनेछ । महोत्सवमा थारु सांस्कृतिक झाँकी र्‍याली, विविध सांस्कृतिक प्रस्तुति, थारु खानपानको प्रदर्शनी तथा बिक्री, थारु सीप–हस्तकला प्रदर्शन लगायत कार्यक्रमहरू समावेश छन् ।

त्यस्तै, महोत्सवमा झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी–विरहनी गीत तथा रेकर्ड डान्स पनि प्रस्तुत गरिने जानकारी दिइएको छ । महोत्सवले बुड्ढी ताल क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय थारु समुदायमा उत्साह र रौनक छाउने विश्वास व्यक्त गरिएको छ ।

महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले सबैलाई महोत्सवमा सहभागी हुन पनि आह्वान गरेका छन् । यसैगरी, सोमबार नै आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले माघी महोत्सव थारु समुदायको वास्तविक पहिचान झल्काउने महत्वपूर्ण अवसर हुने बताउनुभयो । महोत्सवले हराउँदै गएको थारु जातिको मौलिकपन संरक्षणमा अहम भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

उहाँले महोत्सवमा थारु भेषभूषा र संस्कृतिलाई झल्काउने स्टलहरू निःशुल्क उपलब्ध गराइने र थारु सीप र कलासँग जोडिएका सामग्रीको बजारीकरण समेत गरिने जानकारी दिनुभयो ।

त्यस्तै, थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष पवन कुमार चौधरीले थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको उल्लेख गर्दै, थारु संवत् २६४८ विदा गरी २६४९ लाई भव्य रूपमा स्वागत गर्ने तयारी रहेको बताउनुभयो । महोत्सवले सांस्कृतिक संरक्षणसँगै सामाजिक, शैक्षिक तथा आर्थिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रम थारु कल्याणकारिणी सभा बुद्धभूमिका सचिव जगदीश प्रसाद चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।