कपिलवस्तु ।

मायादेवी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडकखण्डमा स्कुल बस पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन् ।

सोमबार विहान करिब ९ बजे फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको विद्यार्थी बोकेको सनलाइट इङ्लिस बोर्डिङ स्कुलको बस अचानक अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा १२ वर्षीय प्रान्सु पाल, १४ वर्षीया अनिता बराई, ११ वर्षीय विशेष थारु, ८ वर्षीय अमन यादव, ८ वर्षीय सुदीप यादव, १० वर्षीया आईसा भट्टराई र १४ वर्षीया गुन्जा कहार रहेका छन् । गुन्जा कहारको टाउकोमा भित्री चोट लागेको भए पनि सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते विद्यार्थीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।