बाणगंगा । बाणगंगा नगरपालिकाले बाणगंगा नगरपालिका वडा नं. ८ मोतिपुरस्थित खानेपानी संस्था उदयपुरमा आज एकदिने एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ।

नगरवासीलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा स्वास्थ्य, आयुर्वेद, पशु, कृषि, योजना, राजश्व, महिला विकास शाखा, शिक्षा, भूमि, सुरक्षित आप्रवासन, वन तथा वातावरण, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

शिविरको उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाका सेवाहरू जनताको नजिक पुर्‍याउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाका विभिन्न शाखाबाट उपलब्ध हुने सेवा एउटै स्थानमा प्रदान गर्दा सेवाग्राहीलाई समय र खर्च दुवैको बचत हुने विश्वास लिएका छौँ। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”

त्यसैगरी नगर उपप्रमुख रिता कुमारी थारुले महिलाहरू, ज्येष्ठ नागरिक, किसान तथा सर्वसाधारण नागरिकलाई लक्षित गर्दै सेवा पहुँच विस्तार गर्न घुम्ती शिविर प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले सेवाग्राहीको समस्या तत्काल सुन्ने र समाधान गर्ने अवसर यस्ता शिविरले प्रदान गर्ने उल्लेख गर्नुभयो।

वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडावासीको माग र आवश्यकतालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “वडावासीलाई नगरपालिकाको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाउन यो शिविर निकै उपयोगी भएको छ।”

शिविरमा वडा नं. ८ का अधिकांश स्थानीयले विभिन्न सेवा लिएको जानकारी वडा सदस्य शैलेन्द्र बेल्वासेले दिनुभयो। उहाँका अनुसार स्वास्थ्य जाँच, कृषि तथा पशु सम्बन्धी परामर्श, राजश्व र सामाजिक सेवा सम्बन्धी काममा नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एकदिने उक्त एकीकृत घुम्ती शिविरले स्थानीय नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयले प्रतिक्रिया दिएका छन्।