गुल्मी ।

मालिका गाउँपालिका–६ राम्चेमा शुक्रबार बिहान ८ बजेतिर बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक नाबालक घाइते भएका छन् ।

स्थानीय वडाध्यक्ष दीपक भण्डारीका अनुसार दुर्घटना लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बस र लु ९ प ८१५० नम्बरको मोटरसाइकल बीच भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय वसन्त अर्याल र ६० वर्षीय मनकला अर्यालको मृत्यु भएको छ । मोटरसाइकलमा सवार ६ वर्षीय अनुभव गिरी घाइते भएका छन् ।

वडाध्यक्ष भण्डारीका अनुसार बसले पैदल हिँडिरहेकी ४२ वर्षीय लीला अर्याललाई पनि ठक्कर दिएको थियो । उनी कमलपोखरी माविमा शिक्षकका रूपमा कार्यरत छिन् र अहिले घाइते भएकी छन् ।

बस स्थानीय एक बोर्डिङ स्कूलका शिक्षक र विद्यार्थीहरूलाई वनभोजमा लैजाँदै थियो । स्कुलबाट विद्यार्थी बोकेर २० मिटर अगाडि बढ्दा बसले मोटरसाइकललाई ठक्कर दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।

मृतक वसन्त अर्याल अर्जै, छाप, घमिर, अमरपुर र ईस्मा क्षेत्रमा चालकको काम गर्दै आएका थिए । मनकला अर्यालले राम्चेदेखि केही तल पौवामा रहेका अनुभवलाई लिएर वसन्तसँग फर्किदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटनापछि बस चालक ४१ वर्षीय चुरा बहादुर थापा (धुर्कोट–४, गुल्मी) प्रहरी नियन्त्रणमा लिइएको छ । घाइतेहरूको उपचार र मृतकको शव पोस्टमार्टमका लागि तम्घास पठाइएको प्रहरीले जनाएको छ ।