काठमाडौँ ।

विभिन्न युवा संस्थाहरूको आयोजनामा आज १३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाहरूले यो दिवस मनाउँदै आएका छन् । नेपाली पहिचानका रूपमा रहेको दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीलाई युवामाझ स्थापित गर्ने उद्देश्यले २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । विगत १३ वर्षदेखि प्रत्येक वर्ष जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ, जसले राष्ट्रिय पोशाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।

विगतमा राष्ट्रिय पोशाकका रूपमा मनाइने प्रचलन औपचारिक रूपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ ।