काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई हप्ताभित्र महानगरको जिम्मेवारी छोड्ने तयारी गरेका छन् ।

फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि उनले पद छोड्ने तयारी गरेका हुन् ।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री बन्ने विषयमा सहमति भएको थियो । उक्त सहमतिअनुसार प्रधानमन्त्रीको उम्मेदवार बन्न उनले माघ ६ गतेभित्र काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।

काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार बन्ने निश्चित भएपछि उनले दुई हप्ताभित्र राजीनामा दिने तयारी गरेका हुन् ।

मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, “केही कामहरू बाँकी छन् । दुई हप्ताभित्र सकिएला कि भन्ने छ । अब त्यो विषयमा प्राविधिक र राजनीतिक पक्षहरू हेरेर उपयुक्त समयमा निर्णय हुन्छ । त्यो समय दुई हप्ताजत्तिकै हुन सक्छ ।”