रुपन्देही ।

रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा एक १७ वर्षीय किशोरको शव नालीमा फेला परेको छ । मृतकको पहिचान कञ्चन–३ निवासी ईशान शर्मा पौडेलका रूपमा गरिएको छ । ईशान तेक्वान्दोका खेलाडीसमेत थिए ।

प्रहरीका अनुसार ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए । खोजतलासका क्रममा घर नजिकैको नालीमा उनको शव फेला परेको हो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको छ ।

स्थानीयवासीका अनुसार केही दिनअघि विद्यालय परिसरमा एउटै युवतीको विषयलाई लिएर ईशान र उनका साथीहरूबीच विवाद भएको थियो । सोही विवादकै कारण हत्या भएको हुनसक्ने आशंका गरिएको भए पनि प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार घटनास्थल आसपास निगरानी बढाइएको छ र विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । उनले भने, “दोषी पहिचान गरी छिटो पक्राउ गर्न अनुसन्धान तीव्र पारिएको छ ।”

कञ्चन–३ का वडा सदस्य तथा मृतकका छिमेकी दीपक अधिकारीले पनि विद्यालय परिसरमा विवाद भएको कुरा सुनिएको बताए । उनले भने, “उनी कुनै कुलतमा लागेको जानकारी हामीलाई थिएन । आफ्ना कुरामा अडिग रहने स्वभावका थिए । युवतीको विषयमा विवाद भएको सुनिएको छ, तर यथार्थ प्रहरी अनुसन्धानबाट खुल्नेछ ।”

घटनाको दिन ईशान साँझ जिम जान घरबाट निस्केका थिए । उनीसँगै जिमबाट बाहिर निस्केका एक जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हालसम्म अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

स्थानीयका अनुसार मृतकको शव घरबाट करिब १५० मिटर दूरीमा रहेको नालीमा फालिएको अवस्थामा भेटिएको थियो । टाउकोको पछिल्लो भागमा चोट देखिएको र घटनास्थलमा धेरै रगत नदेखिएकाले अन्यत्र हत्या गरी शव फालिएको हुनसक्ने अनुमान गरिएको छ । समूह मिलेर आक्रमण गरिएको हुनसक्ने आशंकासमेत गरिएको छ ।

मृतक ईशानकी आमा गाउँमै ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी छन्, तर घटनाको दिन उनी घर बाहिर रहेको बताइएको छ ।घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ । स्थानीयवासीहरूले दोषीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।