भैरहवा, २९ मंसिर ।

सोमबार बिहान भएको सडक दुर्घटनामा रुपन्देहीका दुई युवाको मृत्यु भएको छ । भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका–३, परासीझुवामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–३ का २१ वर्षीय राजु हरिजन र सोही स्थानका २३ वर्षीय रोहित यादव रहेका छन् । सोमबार बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गरेको ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिराखिएको एचआर ५५ डब्लु ०३०१ नम्बरको भारतीय ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, दरखस्वामा एक वृद्ध महिलाको शव पानीमा अर्धडुबेको अवस्थामा फेला परेको छ । सोमबार बिहान करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हालसम्म मृतक महिलाको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृति, मृत्युको कारण र पहिचान खुलाउन जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट विशेषज्ञ टोली खटिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।