कपिलवस्तु । हात्तीपाइले रोगको औषधि खुवाउने अभियान कविलवस्तुमा सुरु भएको छ । आइतबार यहाँ १७ औं पटक यो औषधि ख्वाइएको हो । स्वास्थ्यमन्त्री सुधा शर्माले कपिलवस्तु नगरपालिकास्थित सभा हलमा आफैं औषधि सेवन गरेर मंसिर ७ देखि २१ सम्म चल्ने अभियानको शुभारम्भ गरेकी छन् ।

१६ औं पटक खुवाउँदा पनि रोग निवारण नभएपछि अभियान लम्बिएको हो । यस वर्ष जिल्लाका ६ स्थानीय तहका ३ लाख ७४ हजारलाई औषधि सेवन गराइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एक जना स्वास्थ्यकर्मी र एक जना महिला स्वयंसेविका घरघर पुगेर औषधि सेवन गराउने छन् ।

पहिला औषधि सेवन गरे पनि नगरे पनि घरमा छाडेर आउने गरिएकामा अब स्वास्थ्यकर्मीको उपस्थितिमा ख्वाएर फर्किने योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । अभियान सकिएको दुई सातापछि अनुगमन टोली पठाएर सोधखोज गरी औषधि नखुवाएको पहिचान गरी औषधि ख्वाउने उनले बताए । अभियान सकिएपछि कम्तीमा दुईपटक सघन अनुगमन गरेर यस पटक जिल्लाबाट हात्तीपाइले रोग निवारण गरिछाड्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।

जिल्लालाई दुई समूहमा बाँडेर १६ औं पटक औषधि ख्वाउँदा बुद्धभूमि, शिवराज र वाणगंगा नगरपालिका तथा विजयनगर गाउँपालिकामा हात्तीपाइले रोग निवारण भएको थियो । त्यहाँ औषधि सेवन गरेको ६ सय ९ जनाको रक्त परीक्षण गर्दा एक प्रतिशतभन्दा कममा हात्तीपाइले रोग पाइएको परजीवी माइक्रो फाइलेरियाको जीवाणु पाइएको थियो । तर, अर्को समूहमा रहेको महाराजगन्ज, कपिलवस्तु र कृष्णनगर नगरपालिका तथा यशोधरा, मायादेवी, शुद्धोधन गाउापलिकामा ६ सय ९ जनाको रक्त परीक्षण गर्दा एक प्रतिशतभन्दा बढी (१ दशमलव ३१ प्रतिशत) मा हात्तीपाइले रोगका परजीवी माइक्रो फाइलेरियाका जीवाणु पाइएको थियो । परिक्षण गरिएको रगतमा एक प्रतिशतभन्दा कममा हात्तीपाइले रोगका परजीवी माइक्रो फाइलेरियाका जीवाणु पाइए निवारण भएको मानिन्छ । नभए पुनः ख्वाउनु पर्छ ।