बाणगंगा ।

‘आजको बचत, भोलीको सुनौलो भविष्य’ भन्ने नारासहित बाणगंगा नगरपालिका–५ कोपवा स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा एक भव्य समारोहकाबीच सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा सहकारीका शेयर सदस्य एवं समाजसेवी अब्दुल रासिद खाँले समाजलाई अगाडि बढाउन अग्रसर बुद्धिजीवीहरूको सक्रियता जरुरी रहेको उल्लेख गर्दै सहकारीले समुदाय विकासमा खेलेको भूमिकाको प्रशंसा गरे ।

विशिष्ट अतिथि तथा बाणगंगा–५ का वडा अध्यक्ष एवं सहकारीका संस्थापक अध्यक्ष दुनिका भुषालले शेयर सदस्यलाई छिटो र सरल ढङ्गले ऋण प्रवाह गरिरहेको जानकारी दिए । सहकारी कुनै व्यक्तिको नभई सम्पूर्ण शेयर सदस्यहरूको आस्था र सहकार्यले चलेको संस्था भएको उल्लेख गर्दै उनले शेयर सदस्यले गरेको बचतको सदुपयोगबारे सचेत रहन आग्रह गरे ।

कपिलवस्तु नगरपालिका–१० का वडा अध्यक्ष मोहनलाल शर्माले सहकारी बाणगंगा नगरपालिकामा उत्कृष्ट सहकारीका रूपमा सम्मानित भएकोमा खुशी व्यक्त गर्दै यसलाई राष्ट्रिय स्तरको नमुना सहकारी बनाउने लक्ष्यका साथ उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्नु आवश्यक रहेको बताए ।

त्यसैगरी बाणगंगा–११ का वडा अध्यक्ष नरेन्द्र चौधरीले सहकारीको आर्थिक अवस्था मजबुत रहेको भन्दै निःसंकोच सहकारीमार्फत कारोबार गर्न सकिने बताए । उनले कर्मचारीहरूको लगनशीलता र अनुशासनकै कारण सहकारी नगरकै उत्कृष्ट सहकारीका रूपमा स्थापित भएको टिप्पणी गरे ।

कार्यक्रममा सल्लाहकार समितिका संयोजक चन्द्रमणी क्षेत्री, स्वास्थ्य शाखा प्रमुख तथा सल्लाहकार समितिका सदस्य ठगराज पौडेल, दधि स्मृति साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, सल्लाहकार बाबुराम अर्याल, वरिष्ठ सदस्य युवराज अर्याललगायतले सहकारीको निरन्तर प्रगति र सदस्यहरूको सक्रियताको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।

यसै क्रममा संस्थाका अध्यक्ष भरतराज न्यौपानेले आगामी आर्थिक वर्षका लागि नीतिगत तथा कार्यक्रमगत प्रस्ताव प्रस्तुत गरे । उनले आगामी वर्ष शेयर सदस्य संख्या १९८० बाट २,०८० पुर्‍याउने, शेयर पुँजीलाई ४ करोड ६५ लाख १२ हजार ८ सय रुपैयाँसम्म बृद्धि गर्ने, बेरोजगार युवालाई कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्न १० लाखसम्म सहुलियत ऋण उपलब्ध गराउने तथा सो ऋणमा एक प्रतिशत कम ब्याजदर लागू गर्ने योजना प्रस्तुत गरे । साथै पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सदस्य प्रोत्साहनका कार्यक्रम पनि प्रस्तुत गरियो ।

वार्षिक साधारण सभाको अवसरमा सहकारीले नौ जना उत्कृष्ट शेयर सदस्यलाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान गर्यो । असल कर्जा सापटीकर्ता, असल मासिक बचतकर्ता, असल जोडी बचतकर्ता, असल बाल बचतकर्ता तथा असल दैनिक बचतकर्ता विधामा उत्कृष्टता देखाउने सदस्यहरूलाई सम्मान गरिएको थियो ।

सभामा सचिव कमल खनालले वार्षिक प्रगतिप्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण भुषालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक कमल घिमिरेले प्रस्तुत प्रतिवेदनहरू साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्‍यो । कार्यक्रम उपाध्यक्ष मधु गौतमको स्वागत तथा सचिव कमल खनालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।