बाणगंगा ।

बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ६ गते (शनिबार) १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

उक्त दिन गायक श्याम राना, गायिका अस्मिता डल्लाकोटी, गायिका सम्झना राणापाल तथा चर्चित हास्यकलाकार विष्णु जि. पाण्डे (माईलाबा) को प्रस्तुतिले मेलास्थलमा आएको भीडलाई झनै उत्साहित बनाएको थियो ।

आईतबार मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक पुस्कर शर्मा तथा भोजपुरी मोडल प्रिती पाशवान रहने कार्यक्रम तय गरिएको संयोजक शंकर भाट क्षेत्रीले जानकारी दिए । साथै गायक मधु परियार, गायिका कुसुम परियार लगायतका कलाकारहरूले पनि प्रस्तुती दिनेछन् ।

मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो तथा फिस टनेल विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । हरेक दिन रु. १०० को टिकट किनेका दर्शकका लागि लक्की ड्रमार्फत उपहार जित्ने अवसर समेत राखिएको छ ।

उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुने मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै स्थानमा प्रदर्शन गर्दै कपिलवस्तुको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।