घनश्याम भर,कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको दुई दिने नि:शुल्क आँखा जाँच शिविर सोमबार सम्पन्न भएको छ । विजयनगर आधारभूत अस्पताल बध्दौरमा आयोजित शिविरबाट कुल ४ सय ४ जनाले आँखा जाँच सेवा प्राप्त गरेका छन् ।

आँखा जाँचमा १ सय २९ जनामा मोतिबिन्दुकाे समस्या देखिएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जानकारी दिए । मोतिबिन्दु पुष्टि भएका सबै बिरामीको अस्पतालमै नि:शुल्क शल्यक्रिया गरिएको उनले बताए ।

विजयनगर गाउँपालिकाको आयोजना र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियोे ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिविरमा रहेका बिरामीहरुकाे स्वास्थ्य अवस्था बुझ्दै नागरिककाे स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक वर्ष विभिन्न शिविर सञ्चालन गर्दै आएको बताइन् । उनले अस्पताल सञ्चालन भएलगत्तै अस्पतालबाटै विभिन्न सेवा सुचारु भएकाे हुँदा यसै अस्पतालबाट उपलब्ध सेवाहरु लिन सकिने कुरामा जाेड दिइन् ।

यस्तै ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले आँखा अतिसंवेदनशील भएकाे हुँदा स्वास्थ्य नियमित जाँच र स्वास्थ्य बीमाप्रतिको महत्त्वमा जोड दिए । उनलेे आँखा हेरचाहप्रति विशेष ध्यान दिन सबै बिरामीहरुलाई आग्रह गरे ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले शिविरमा आँखाका बिरामीलाई नि:शुल्क चश्मा, औषधी समेत वितरण गरिएको बताए ।