बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–११, हथौसामा रहेको श्री हेमराज माध्यमिक विद्यालय पछिल्ला दिनहरूमा अभिभावक तथा विद्यार्थीहरुको विश्वास जित्दै लोकप्रिय बन्दै गएको छ। विद्यालयमा हाल सुरु गरिएको अनुशासन, स्वास्थ्य तथा सिकाइ–सुधार सम्बन्धी पहलहरूले विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाएको विद्यालयले जनाएको छ।

विद्यालयमा जंकफुड पूर्ण रूपमा निषेध गरिएको छ भने विद्यार्थीका लागि पौष्टिक दिवा खाजाको व्यवस्था मिलाइएको छ। साथै तहगत रूपमा शिक्षक–अभिभावक अन्तर्क्रिया कार्यक्रम, विद्यार्थीको उपस्थिति तथा अभ्यासमा सुधार ल्याउन अभिभावकको उपस्थितिलाई प्रोत्साहन गर्ने अभियानसमेत सञ्चालन गरिएको छ।

यसै शैक्षिक सत्रदेखि अतिरिक्त कक्षा सञ्चालन, कमजोर विद्यार्थीका लागि सहयोगात्मक सिकाइ, र विद्यार्थीको निःशुल्क आँखा परीक्षणजस्ता कार्यक्रम सुरु गरिएको विद्यालयले जनाएको छ ।

एक अभिभावकले विद्यालयको सकारात्मक परिवर्तनप्रति सन्तुष्टि व्यक्त गर्दै भने, “पहिले यस्तो काम भएको थिएन। अहिले कक्षामा उपस्थिति, नियमितता, सरसफाइ, अतिरिक्त गतिविधिमा सहभागिता बढाउने तथा प्रोत्साहन गर्ने जस्ता कार्यले विद्यालय राम्रो बनेको आभास भएको छ।”

त्यस्तै एक महिला अभिभावकले विद्यालयले विद्यार्थीको स्वास्थ्यसँगै सिकाइमा दिएको चासोप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय व्यवस्थापनको प्रशंसा गरिन्।

विद्यालयका नवनियुक्त प्रधानाध्यापक विकास श्रेष्ठका अनुसार विद्यालय सुधारका यी कार्यक्रमहरू नियमित रुपमा जारी रहने छन्।“हामी शिक्षक–स्टाफ मिलेर विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध छौँ। अभिभावक र विद्यार्थीको खुशी नै विद्यालयको गरिमा हो,” उनले भने।

विद्यालयले आगामी दिनमा विद्यार्थी, अभिभावक तथा समुदायबीचको अपनत्व अझै मजबुत बनाउने कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।