तारा न्यौपाने, अर्घाखाँची। सितगंगा नगरपालिका–१४ ढावस्थित ढाव सामुदायिक वन उपभोक्ता समूहको १७औं वार्षिक साधारण सभा समूहको प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सितगंगा नगरपालिका वडा नं.१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले सामुदायिक वनहरूले वातावरण संरक्षणसँगै समुदायको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। उहाँले वनको संरक्षण र व्यवस्थापनमा उपभोक्ताहरूको सक्रिय सहभागिता अझै आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यस्तै बाणगंगा सव डिभिजन वनका अधिकृत अर्जुन प्रसाद चापागाईले वन क्षेत्रको दिगो संरक्षणका लागि स्थानीय स्तरबाट हुने पहललाई वन कार्यालयले निरन्तर साथ दिने बताउनुभयो। उहाँले सामुदायिक वनहरूले स्थानीय विकासका धेरै उदाहरण प्रस्तुत गरिसकेको भन्दै पारदर्शिता र उत्तरदायित्वमा अझ ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

साधारण सभामा समूहका अध्यक्ष भोजराज न्यौपानेले गत वर्षको गतिविधि प्रस्तुत गर्दै उपभोक्ताको सहयोग र एकताका कारण समूहले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो। उहाँले आगामी दिनमा वातावरण संरक्षण, आयमूलक कार्यक्रम र सामुदायिक विकासमा अझ प्रभावकारी काम गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा कोषाध्यक्ष माया न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो त्यस्तै स्वागत मन्त्वय यादव प्रसाद न्यौपानेले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजसेवी गणेश न्यौपानेले गर्नुभएको थियो।