कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–३ पत्थरदेइयामा अब आधुनिक सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । भारतीय दूतावासको सहयोग र विजयनगर गाउँपालिकाको साझेदारीमा २ करोड ३० लाख रुपैयाँ लागतमा बन्ने यो भवनले ग्रामीण बस्तीको स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाका अनुसार सोमबार संघीय मामिला मन्त्रालयमा भएको सम्झौता कार्यक्रम मार्फत स्वास्थ्य चौकी भवन निर्माणको प्रक्रिया औपचारिक रूपमा शुरु गरिएको हो । “यो हाम्रो सामूहिक प्रयासको परिणाम हो,” अध्यक्ष थापाले भन्नु भयो “भवन बनेपछि यहाँका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, जसले स्थानीय जीवनस्तरमा ठुलो सुधार ल्याउनेछ ।”

विगतमा जीर्ण भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रहँदै आएका स्थानीयवासीमा यो निर्णयले नयाँ आशा जगाएको छ । स्वास्थ्य चौकीका लागि पर्याप्त पूर्वाधार नहुँदा उपचारका लागि टाढा जानुपर्ने समस्या अब अन्त्य हुने अपेक्षा गरिएको छ ।स्थानीयवासी हरि चौधरी भन्छन्, “अब उपचारका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता हट्नेछ, विशेषगरी गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि यो भवन वरदान साबित हुनेछ।”

यो परियोजना केवल स्वास्थ्य सेवा विस्तारमा सीमित नभई समुदायमा सशक्तीकरण र विकासको महत्वपूर्ण आधारका रूपमा समेत हेरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना, सेवा पहुँचमा समानता र ग्रामीण जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।